११ बैशाख २०८२, बिहीबार

ओलीलाई पौडेलको चुनौतिः ‘हामी छक्का हानेर सरकारको नीति तथा कार्यक्रम पास गराउँछौं’

devendra poudel

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई मध्यनजर गरेर आएको दाबी गरेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले सरकारको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र लयमा फर्कने विश्वाससमेत व्यक्त गरे । साथै, सरकरको नीति तथा कार्यक्रममा आफ्नो दृढतापूर्वक समर्थन रहेको पनि उनले प्रष्ट पारे ।

‘अहिलेको प्रतिकूल परिस्थितिमा रहेको विश्वको अर्थ प्रणाली र नेपालको अर्थ प्रणालीको बीचबाट देशको अर्थ प्रणालीलाई जोगाउने गरी यो नीति कार्यक्रम, विनियोजन विधेयकको सिद्दान्तहरु र त्यसपछि बजेट आउँछ भन्ने कुरामा विश्वस्त छु । लयमा नै हामी अगाडि बढ्ने विश्वास म यहाँहरुलाई दिन चाहन्छु र सरकारले त्यो प्रतिवद्दता व्यक्त गरेको हुँदा सरकारले ल्याएको यो कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्न चाहन्छु,’– पौडेलले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा सरकारका नीति तथा कार्यक्रम पास गर्न नदिने उद्घोष गरेपनि त्यो सम्भव नरहेको उनको भनाई छ । अहिलेको सरकार गठबन्धनको रहेकाले गठबन्धनका दलहरु ओलीको ह्वीप मान्न तयार नहुने पौडेलको भनाई छ ।

‘यो छक्का हानेर फेल गर्ने कुरा पनि पूर्व प्रधानमन्त्रीजीले गर्नुभयो । रमाईलो पनि थियो सुन्दाखेरी, मैले बाहिर गएर पनि सुने, यहाँ पनि सुने । तर, यो गठबन्धन हो । म के भन्न चाहन्छु भने उहाँको ह्वीप चाहिँ सबै दलले मान्ने स्थिति छैन । छक्का हानेर, गड्गडाएर, ताली हानेर हामी यो नीति कार्यक्रम पास गर्छौं । यो सरकारले ल्याएको कार्यक्रम हो, सरकार बहुमतको छ । त्यसकारण तर्कका लागि तर्क होइन, हामी यथार्थमा वहस गरेर अगाडि बढ्न जरुरी छ,’– पौडेलले भने ।

    सम्बन्धित समाचार...