
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनन वा नयाँ दल खोलेर राजनीति गर्न सुझाव दिएका छन् ।
आज (शनिबार) सम्वाद डबलीले आयोजना गरेको अन्तरक्रियामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै पूर्वराजालाई राप्रपाको अध्यक्ष बन्न वा अन्य कुनै पार्टी खोल्न सुझाव दिएका हुन्।
सम्बोधनको क्रममा उनले भने, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्। अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। बरू राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्।’
पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसङ्ग उठाउँदै उनले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए।