
नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टी नेतृत्वको निरन्तर आलोचना गरिरहेका छन् । पार्टी नेतृत्वले १० महिना पुग्दा समेत केन्द्रीय समितिको बैठक नबोलाएको र एकल रूपमा पार्टी सञ्चालन गरेको भन्दै थापाले निरन्तर नेतृत्वको आलोचना गरिरहेका छन् । सभापति शेरबहादुर देउवाले थापालाई नेतृत्वको आलोचना नगर्न चेतावनी समेत दिइरहेका छन् ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा पछिल्लो समय अस्थिर बनेको कांग्रेस नेतृत्वले ठहर गरिरहेको छ । पार्टी भित्र विद्रोही नेताको छवि बनाएका थापा पार्टी नेतृत्वको खुलेरै आलोचना समेत गरिरहेका छन् । जसले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोपको स्थिति बन्ने गरेको छ ।
महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले पार्टी भित्रको शक्ति व्यवस्थापनमा एकाधिकार गरेको र त्यसले कांग्रेसको भविष्य सङ्कटमा परेको भन्दै सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्न बारम्बार दबाब दिइरहेका छन् । महामन्त्री थापा निरन्तर आफूमाथि खनिएको भन्दै सभापति देउवाले सार्वजनिक कार्यक्रममा आफ्नो नेतृत्वको आलोचना नगर्न महामन्त्री थापालाई चेतावनी समेत दिन थालेका छन् ।
सभापति देउवाले यति बेला आफ्नो नेतृत्वमा रहेको कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको दाबी गरिरहेका छन् । महामन्त्री थापाको दबाब पछि सभापति शेरबहादुर देउवाले आफ्नो उमेर बढेको र स्वास्थ्य कमजोरीका कारण आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने भन्दै थापालाई पार्टी निर्माणमा लाग्न सुझाव दिइरहेका छन् ।
सभापति देउवाले आगामी महाधिशेसनमा नेतृत्वबाट विश्राम लिने बताइरहेका बेला महामन्त्री थापा भने निरन्तर पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् । सार्वजनिक कार्यक्रम मार्फत महामन्त्री थापाले पार्टीको केन्द्रीय समितिको बैठक १० महिना देखि बस्न नसकेको र त्यसको मुख्य दोषी सभापति देउवा रहेको बताइरहेका छन् ।
निरन्तर पार्टी नेतृत्वको आलोचना गरिरहेका थापाले कांग्रेस फुटाउन खोजेको समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ । कतिपयले त महामन्त्री थापाले कांग्रेस फुटाएर एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न खोजको समेत आरोप लगाएका छन् । तर यो बारे महामन्त्री थापाले धारण सार्वजनिक गरिसकेका छैनन् । हरेक दिन कुनै न कनै मुद्दामा खरो अभिव्यक्ति दिने महामन्त्री थापा कांग्रेसभित्रको इतर समूहमा समेत एक्लिएका छन् ।
यसअघि कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व गरेका नेता शेखर कोइराला पछिल्लो समय सभापति देउवासँग खुल्न थालेपछि महामन्त्री थापा एक्लिएका हुन् । पार्टीको १४ औँ महाधिवेशनमा रूपान्तरण सहितको नारा दिएर इतर समूहमा रहेर सँगसँगै काम गरेका गगन र शेखर बिचको फाटोले समेत गगनको रूप अस्थिर बनिरहेको छ । जसले कांग्रेसको आगामी महाधिवेशनको चुनावी मैदानमा शेखर–गगन प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघि नेपाली कांग्रेसको संसदीय दलको चुनावमा संस्थापन इतरका नेता शेखर कोइरालाले थापालाई साथ दिएका थिए । शेखरको साथमा कांग्रेस सभापति देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री थापा नराम्ररी पराजित भएका थिए । त्यसपछि संस्थापन इतर समूह छिन्नभिन्न भएको. छ । र पार्टीमा आफ्नो पकड जमाउन महामन्त्री थापा निरन्तर पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् ।