
नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार पुर्पक्षका लागि जेल चलान गरिएका १६ अभियुक्तको कसुर के–के रह्यो ? काठमाडौं जिल्ला अदालतको २८ पृष्ठ लामो थुनछेक आदेशमा सबैको कसुर खुलाइएको छ ।
अदालतले चार व्यक्तिलाई सरकारी उच्च ओहोदामार रहेर अपराधमा संलग्न रहेको प्रारम्भिक ठहर गरेको छ । जिल्ला न्यायाधीश प्रेम प्रसाद न्यौपानेको थुनछेक आदेशमा भनिएको छ, ‘प्रतिवादीमध्येका बालकृष्ण खाण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे र इन्द्रजित राई तत्कालीन समयमा सरकारी उच्च तहमा रहेको पाइयो ।’
गृहमन्त्री खाणको दोष
पूर्वगृहमन्त्री बालकृष्ण खाणले बालकृष्ण पन्थीको विवादित प्रतिवेदन मन्त्री परिषदमा पेश गर्न ०७८ मंसिर १२ मा स्वीकृति दिएको, छुट शरणार्थीको विवरण पेश गर्न कार्यदल गठन गराएको कार्यादेश थप गरेको र म्याद सकिएपछि दुईमहिनाको म्याद थप गरेको भन्दै उनलाई कारगार पठाइएको हो ।
खाण गृहमन्त्री भएका बेला मन्त्रिपरिषदबाट प्राप्त प्रतिवेदनसँग मिल्दोजुल्दो नक्कली समानान्तर प्रतिवेदन गृहमन्त्रालयमा तयार भएको अदालतको आदेशको २२ पृष्ठमा उल्लेख छ ।
साथै गृहमन्त्री हाम्रै हुन् भन्ने केशव दुलालको वयानलाई पनि खाणलाई कारागार चलान गर्ने आधाचर मानिएको छ ।
सचिव टेकनारायण पाण्डेको दोष
तत्कालीन गृहसचिव रहेका पाण्डेले भुटानी शरणार्थीको दर्ता प्रक्रिया सन् २०१६ डिसेम्बर ३१ मै बन्द भइसकेको अवस्थामा ४२९ जनाको नाम विवादित रहेको भन्ने उल्लेख गरेर सचिव स्तरीय निर्णयबाट छुट शरणार्थीको विवरण पेश गर्न कार्यदल गठन गरेको अदालतको ठहर छ ।
पाण्डेले सचिव भएका बेला नक्कली समानान्तर प्रतिवेदन तयार पारेको तथ्यलाई अदालतले अंगीकार गरेको छ । अन्य व्यक्तिको वयानका आधारमा समेत कसुरमा पाण्डेको संलग्नता देखिएको अदालतले भनेको छ ।
त्यस्तै, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपले सानु भण्डारीबाट पटक–पटक गरी दुई करोड रुपैयाँ लिएको भन्दै कसुरमा संलग्नता देखिएको अदालतले ठहर गरेको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले बिचौलियाहरुबाट पटक–पटक गरी ६ करोड रुपैयाँ लिएको अदालतको आदेशको २३ औं पृष्ठमा उल्लेख छ ।
त्यस्तै भुटानी नेता टेकनाथ रिजालले ३४ जना नेपालीलाई शरणार्थीको परिचयपत्र बाँडेको र ११ लाख रुपैयाँ लिएको आदेशमा उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणमा अदालतले कारागार पठाएका १६ प्रतिवादीको कसुर के कस्तो देखियो ? हेर्नुहोस् काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश–


























