
सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनु नपर्ने ठहर गरेको छ ।
प्रधानमन्त्री दाहालको विवादास्पत अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद अवरुद्ध पार्दै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि सत्ता गठबन्धनको आज बिहान बैठक बसेको हो ।
बालुवाटारमा बसेको बैठकले एमालेको कदम असंसदीय रहेको ठहर गर्दै प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा नेकपा सहभागी एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत रहेको जनाए ।
‘प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले संसदको फेस गर्नुहुन्छ ।’
गत सोमबार ‘रोड्स टु द भ्याली–द लिगेसी अफ सरदार प्रिमत सिंह इन नेपाल’ नामक पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री दाहालले सरकार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उक्त भनाइप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार दुवै सदनको बैठकमा अवरोध गरेको थियो ।