
आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंहले कहिले दिल्ली धाएर त कहिले काठमाडौंमा सहयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममै दिएको अभिव्यक्ति सर्वत्र आलोचित बनेको छ । यही कारण प्रतिपक्षी दलहरुले आज संसद् अवरुद्ध पारेका छन् ।
राजनीतिक क्षेत्रका जानकार र कूटनीतिज्ञहरुले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । पहिलो पटक प्रधानमन्त्री बन्दा भारतप्रति निकै नै आक्रोशित देखिने गरेका दाहाल तेस्रो पटक किन बढी नै लचिलो बने भन्ने प्रश्न पनि उठेको छ ।
सोमबार साँझ एउटा पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री दाहालले ट्रक चालक प्रितम सिंहबारे दिएको अभिव्यक्ति हो यो । तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालको यो अभिव्यक्तिले सरकार निर्माणमा भारतीय भूमिका महत्वपूर्ण रहेको देखाउँछ । तर यिनै दाहाल पहिलो पटक प्रधानमन्त्री भएर सरकारबाट बाहिरिँदा भारततर्फ इङ्गित गर्दै सिधै प्रभुसँग वार्ता गर्ने अभिव्यक्ति दिएर चर्चामा आएका थिए । त्यसबेला उनको बुझाइ आफ्नो विरुद्धमा भारतीय पक्षले खेलेको भन्ने थियो । तर तेस्रो पटक प्रधानमन्त्री बन्दा भने दाहालमा भारतप्रतिको धारणामा मात्रै परिवर्तन भएको छैन, सरकार नै उतैबाट बन्छ भन्नेसम्मको मनस्थितिमा पुगेको देखिन्छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामा नै मागिसकेको छ ।
त्यसो त आफ्नो अभिव्यक्तिलाई लिएर विरोध सुरु भएपछि दाहालले बचाउ गर्न थालेका छन् । उनी कसैको उक्साहटमा आफूविरुद्ध नियोजित प्रहार हुन थालेको तर्क गर्छन् ।
राजनीतिक क्षेत्रमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठिरहँदा कूटनीतिक क्षेत्रमा पनि यसले तरंग सिर्जना गरिदिएको छ । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले देशलाई नै घाइते बनाएको तर्क कूटनीतिका जानकारहरुको छ।
नेपालको आन्तरिक राजनीतिमा छिमेकी भारत र चीनको प्रभाव रहन्छ भन्ने बहस नभएको होइन । तर अहिले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले भने त्यसलाई थप बल पुर्याएको छ ।
छिमेकीहरुको सन्दर्भमा राजनीतिमा केही विषय उठ्न सक्छन् । तर बहालवाला प्रधानमन्त्रीले नै जुन तहमा झरेर अभिव्यक्ति दिएका छन् त्यो भने गम्भीर छ ।