
संसदको अवरोध हटाउने प्रमुख तीनदलबीच सिंहदरबारमा भएको सहमति नयाँ बानेश्वर संसद भवनमा आइनपुग्दै भङ्ग भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान तीन दलका शीर्षनेता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदको अवरोध हटाउने सहमति भएको थियो ।
तीन नेताबीच भएको कुराकानीमा प्रधानमन्त्री दाहालले प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनको कार्यक्रममा दिएको अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने र गल्ती नदोहोर्याउने सहमति गरेका थिए ।
तीन नेताबीच संसद खुलाउने सहमतिभएसँगै १ बजे बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो । तर यसबीचमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर सचिवालयले जारी गरेको विज्ञप्ति र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत सार्वजनिक गरेको विषयलाई लिएर प्रश्न उठाएपछि सहमति भाँडिएको सरकार पक्षको भनाइ छ ।
सिंहदरबारमा तीन दलबीच भएको सहमति सत्तारुढ दलभित्रकै बेमेलका कारण तोडिएको एमालेको दाबी छ ।
प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते जारी गरेको विज्ञप्तिमा मिटर ब्याज पीडितलाई सम्बोधन गर्न ल्याइएको अध्यादेश र सरकारले गरेको सुशासनका काममा एमालेले अवरोध पुर्याएको उल्लेख थियो । एमाले अध्यक्ष ओलीले यसबारे पनि प्रधानमन्त्रीले संसदमा प्रष्ट पार्न आग्रह गरेका थिए । यही विषयमा कुरा नमिलेपछि संसद बैठक भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको नेताहरुको भनाइ छ ।
प्रमुख प्रतपक्षी एमालेले मंगलबारदेखि प्रधानमन्त्रीको राजीनामाको एक सुत्रीय माग राखेर संसद अवरुद्ध पार्दै आएको थियो ।