
अनलाइन बेटिङ प्लेटफर्म (सट्टेबाजी गर्ने वेबसाइट) को विज्ञापन तथा प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार राजु पौडेल ‘राजु मास्टर’, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहितका कलाकारलाई जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरिएको छ ।
साथै दिनेश खड्का, अनीता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोगपपत्रमा कुल ११ जनालाई प्रतिवादी बनाएर सट्टेबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
यो मुद्दामा एक जना भने फरार रहेका छन् । फरार प्रतिवादी कुशल पोखरेलको हकमा कायम गरी मुद्दा दायर गरिएको छ ।
प्रतिवादीमध्ये खड्का र धितालमाथि कुल ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँ बिगो कायम गरिएको छ । कलाकार र युट्युबरहरूको हकमा भने विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) अनुसार कसुर गरेकाले सोही ऐनको दफा २५ (२) अनुसार सजाय हुनुपर्ने माग दाबी लिइएको छ ।
अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।
खड्का र धितालले वान एक्स बेट सट्टेबाजीमा एजेन्टका रूपमा काम गरेको पाइएको छ भने कलाकार र युट्युबरहरू विज्ञापन गरेको अभियोगमा पक्राउ परेका हुन् । बल्छी धुर्वे जेठ ३२ गते पक्राउ परेका हुन् ।
त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।