
कोरियामा पानी जहाज कम्पनीमा काम गर्न जान चाहने नेपाली कामदारहरूका लागि आवेदन खोलिएको छ ।
उक्त कम्पनीमा जान चाहने कामदारहरूको छनोटका लागि कोरियन भाषा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा वैदेशिक रोजगार विभागले सूचना जारी गरेको हो । परीक्षामा सामेल हुन इच्छुक योग्य नेपाली नागरिकहरूले आवेदन भर्न सक्नेछन् ।
उम्मेदवार हुनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ भने आवेदन दर्ताका लागि यही साउन महिनाको २० गतेदेखि २४ गतेसम्मको समय तोकिएको छ । परीक्षामा सहभागी हुनेले www.eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्न सक्ने छन् ।
फाराम भर्दा राहदानीको फोटो भएको पेजको रङ्गिन स्क्यान गरेको फाइल आवेदकले अपलोड गर्नु पर्नेछ । फाराममा आफ्नै इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । यस्तै ३ महिना यता खिचेको दुवै कान देखिने एमआरपी साइजको सेतो पृष्ठभूमि भएको रङ्गिन फोटो पनि आवेदन फाराम भर्दा अपलोड गर्नु पर्नेछ ।
विभागको सूचनाअनुसार दुई चरणमा परीक्षा हुनेछ । आउँदो असोजको १ गते अर्थात् सेप्टेम्बर १८ तारिखदेखि भाषा परीक्षा हुनेछ भने दोस्रो चरणमा सीप परीक्षा हुनेछ । सिप परीक्षा हुने मित भने तोकिएको छैन । भाषा परीक्षाको नतिजा प्रकाशन भइसकेपछि सिप परीक्षाका लागि मिति प्रकाशन गरिने सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगार विभागले जारी गरेको सूचना अनुसार परीक्षा शुल्क २८ अमेरिकी डलर (हालको विदेशी विनिमय दरअनुसार झन्डै ३ हजार ७ सय नेपाली रुपैयाँ ) लाग्नेछ ।
थप जानकारीको लागि हेर्नुहोस् सूचना …