
जर्मन बुन्डेस्लिगा विजेता बायर्न म्युनिखसँग एक सिजनमात्रै बिताएका सेनेगलका फरवार्ड सादिओ माने साउदी प्रो लिग क्लब अल नासर प्रवेश गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बायर्न म्युनिखसँग अझै दुई वर्षको सम्झौता बाँकी हुँदाहुँदै ३१ वर्षीय माने करिब ४० मिलियन युरोमा साउदी क्लब प्रवेश गरेका हुन्।
लिभरपुलका लागि २६९ खेलमा १२० गोल गर्दै च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप र क्लब विश्वकपसमेत जितेका माने गत वर्ष मात्रै बायर्न म्युनिख प्रवेश गरेका थिए।
मर्सिसाइड क्लबका लागि निकै महत्वपूर्ण भूमिका खेलेका मानेले बायर्नमा भने सोही असर पार्न सकेनन्। आफ्नै टिमका लिरोइ सानेसँगको झगडा पछि उनलाई जरिवाना र निलम्बनसमेत गरिएको थियो।
आफ्नो टिम बलियो बनाउँदै गएको अल नासरले गत सिजन क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि विश्व फुटबलका धेरै ठूला नामहरु साउदी प्रो लिग प्रवेश गर्ने क्रम बढेको हो।