
केही दिनदेखि लगातार भइरहेको वर्षा आजदेखि कम हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका कुनै पनि स्थानमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । महाशाखाकाअनुसार देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
हाल सामान्य बदली भई कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा हावाहुरी चल्नेछ ।
राति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
भोलि (मंगलबार) पनि देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
बुधबार पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।