
अभिनेता दयाहाङ राईले ‘नाङ्गो गाउँ’ फिल्म समसामयिक राजनीतिक विषयको भएको बताएका छन् । अहिलेको समाजको राजनीतिक चेतना नै फिल्मको मुख्य विषय भएको उनको भनाइ छ ।
‘अहिलेको राजनीतिक अवस्थाभित्र हामी कहाँ छौँ, कसरी ग्रसित छौँ, के सोच्छौँ । हाम्रो नेतृत्वको दिमाग कस्तो छ, उनीहरूको सोच कस्तो हुन्छ त्यही विषयमा यो फिल्म हो,’ उनी भन्छन्, ‘एउटा गाउँमार्फत अहिलेको अवस्था देखाएका छौँ । जनताको आक्रोश, अपेक्षा र हामीले भोगिरहेको समाजको एक अंश हो ।’
निर्देशक दिपेन्द्र लामा नेतामाथि मात्रै होइन अब प्रश्न जनतामाथि पनि उठाउनु पर्ने बताउँछन् । उनी भन्छन्- ‘गलत नेता जितेर आएको जनताकै कारण हो । असल नेता चयन गर्ने जिम्मेवारी जनता पनि हो । इमानदार नेतामात्रै होइन जनता पनि हुनुपर्छ ।’
दयाहाङ नेपाली राजनीति उत्तरदायी नहुनुमा जनताको पनि दोष रहेको बताउँछन् । पटकपटक खराब नेता छनोट गर्नु जनताको पनि गल्ती भएको उनको भनाइ छ ।
यही वर्तमान राजनीतिप्रति फिल्म ‘नाङ्गो गाउँ’ केन्द्रित रहेको उनी बताउँछन् । ‘हामी नेता खराब भए भनेर आलोचना गर्छौं । निर्वाचनमा तिनै अलोचना गरेका नेतालाई जिताउँछौँ,’ दयाहाङ भन्छन्, ‘त्यसैले नेताले देश बिगारे भनेर भनिरहँदा सायद यसमा हामी पनि त्यसमा दोषी छौँ कि भन्ने हाम्रो बुझाइ छ । यही नै सिनेमाको कथा हो ।’
‘नाङ्गो गाउँ’ हेरेर अहिलेको अवस्था आउनुमा जनताको पनि दोष रहेछ भनेर मनन् गरे त्यही नै सिनेमाको सफलता हुने उनको बुझाइ छ । ‘सायद आर्टिस्टले यसैगरी नै सामाजिक परिवर्तनमा भूमिका खेल्ने होला’, उनी भन्छन्, ‘कलाकारले गर्नसक्ने भनेको यति नै हो । कलाकारले समाज परिवर्तन गर्ने होइन प्रश्न उठाउने मात्रै हो भन्ने लाग्छ ।’
नेतृत्वमा आउने एकजना भए पनि नेतालाई नेतृत्व गर्ने ठाउँमा पुर्याउने र शासन गर्ने ठाउँमा पुर्याउने भूमिका हजारौँको हुने उनी बताउँछन् । यसमा नागरिक नै सचेत हुनुपर्नेमा जोड छ । ‘यस्तो अवस्थामा प्रश्न नेताभन्दा पनि जनतालाई गर्नुपर्छ भन्ने लाग्छ । अब हामी सच्चिने कि नसच्चिने प्रश्न हामीले आफैँलाई गर्नुपर्ने भएको छ,’ दयाहाङ भन्छन् ।
निर्देशक दिपेन्द्र लामा पछिल्लो समय गाउँ रित्तो हुँदै गएको वास्तविकतालाई आफूले फिल्ममा प्रस्तुत गरेको बताउँछन् । जनता पनि राजनीतिलाई उत्तरदायी बनाउन उत्तिकै सचेत हुनुपर्छ भन्ने कथा भन्न मन लागेर आफूले ‘नाङ्गो गाउँ’ बनाएको उनी स्पष्ट पार्छन् ।
नायिका मिरुना मगरले राजनीतिबारे आफूलाई पर्याप्त जानकारी नभए पनि बुझ्ने प्रयास गरेको बताउँछिन् । सामाजिक सञ्जालले नेपाली राजनीति बुझ्न आफूलाई धेरै सहयोग गरेको उनको भनाइ छ । ‘नाङ्गो गाउँ’ छायांकन गरिएको गाउँ पनि बसाइ सराइले नाङ्गो हुँदै गएको भन्दै उनले त्यही गाउँकै कथा भनेजस्तो महसुस आफूले सुटिङका क्रममा गरेको उनले बताइन् ।
दीपेन्द्रको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । सँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङदेल, बुद्धि तामाङ, रवीन्द्रसिंह झालगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते रिलिज हुँदैछ ।