
युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । जहाज आज बिहान ४ बजेर ४ मिनेटमा काठमाडौंबाट दुबई ट्रान्जिट हुँदै इजरायलका लागि उडेको हो ।
नेपाल एयरलाइन्सको उक्त जहाज नियमित उडान तालिकाअनुसार दुबईका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दुबईसम्म यात्रु लिएर गएको हो । दुबईबाट भने इजरायलका लागि चाटर्डका रुपमा जाने जनाइएको छ ।
इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका एक सहसचिवको टोली पनि जहाजमा गएको छ । नेपालबाट उडेको जहाज दुबई ट्रान्जिट भएर जाने भएकाले करिब ७ घण्टा समय लाग्ने जनाइएको छ ।
नेपाल एयरलाइन्सको जहाज नेपाली विद्यार्थीलाई लिएर आजै नेपाल फर्किने जनाइएको छ । उद्धारमा पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई विमानस्थल नजिकै दुई ठाउँमा ठूलो समूहमा राखिएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
चार्टर्ड विमानमा २५० जना मात्रै यात्रु अट्ने भएकाले बाँकीलाई दूतावासले नै सरकारी खर्चमा नियमित उडानबाट नेपाल फर्काउने तयारीसमेत गरिसकेको राजदूत कान्ता रिजालले जानकारी दिइन् ।
सुरक्षा जोखिममा रहेका ३५० भन्दा बढी नेपाली विद्यार्थीले स्वदेश फर्कन अनलाइनमार्फत फारम भरेको तेल अबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
हमासले गत शनिबार बिहान गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ । साथै बेपत्ता रहेका एक नेपालीको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।