
आईसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गत सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले सह-आयोजक अमेरिकालाई १८ रनले हराएको हो । सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुआमा अमेरिकाले टस जितर फिल्डिङ रोजेको थियो ।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ४० बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । दोस्रो विकेटका लागि डिकक र कप्तान एडेन माक्ररमले १ सय १० रनको शतकीय साझेदारी गरे । माक्ररम ४६ रनमा आउट भए । हेनरिक क्लासेन ३६ र ट्रिस्टन स्टब्स २० रनमा नट आउट रहे । अमेरिकाका हरमित सिंह र सौरभ नेत्रवालकरले समान २-२ विकेट लिए ।
१ सय ९५ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अमेरिकाले निर्धरित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका एन्डि्रस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको अविजित इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।
हरमित सिंहले ३८ र स्टिभन टेलर २४ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले सुपर एटमको समूह २ मा २ अंक जोडेको छ ।