९ बैशाख २०८२, मंगलवार

सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज

Manish

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते बनेका पाइलट मनिषरत्न शाक्यको डिस्चार्ज गर्ने तयारी भएको छ ।

केएमसी अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालका अनुसार पाइलट शाक्यको स्वास्थ्य अवस्था सामान्य बनेसँगै डिस्चार्ज गर्ने तयारी भएको हो । पाइलटको डिस्चार्ज गर्नुअघि अस्पतालले पत्रकार सम्मेलन गरेको थियो । यस क्रममा पाइलटलाई आफ्नो भनाइ राख्न दिने तयारी भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले अहिले पाइलटलाई बोल्न नदिन निर्देशन दिएसँगै पत्रकारसँग भेट गर्न रोकेको थियो । उनले भने, ‘आज साढे ४ बजे उहाँलाई डिस्चार्ज गर्ने तयारी गरेको छ, अहिले अवस्था सामान्य भएको छ ।’

दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म पाइलट शाक्यलाई बोल्न रोक लगाइएको हो ।

जहाजको मर्मत गर्न (सी चेक) पोखरा जान उडेको जहाज बिहान करिब ११ बजे त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । घटनामा १८ जनाको मृत्यु भएको थियो । जसमा १५ जना प्राविधिक टोलीका सदस्य थिए भने एक जना कोपाइलट र दुई जना अन्य व्यक्ति थिए ।

    सम्बन्धित समाचार...