
बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।
बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् ।
यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ ।
आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ ।
हसिनाका छोरा भन्छन्- अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन
बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।
बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।
उनले भनेका छन्- ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ को रूपमा हेरिएको छ ।’
उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ साजिबले भने- ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’
उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।’
आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
