९ बैशाख २०८२, मंगलवार

सदन र सडक आन्दोलनको धम्की दिएर दाहालले जनतालाई भड्काउन खोजेको प्रधानमन्त्री ओलीको आरोप

kp oli
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भड्काउने प्रयास गरे पनि त्यो सफल नहुने बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको नेकपा एमालेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदन र सडक आन्दोलनको धम्की दिएर दाहालले जनतालाई भड्काउन खोजेको आरोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारका काम, पछिल्ला राजनीतिक घटनाक्रमलगायतका विषयमा बैठकलाई जानकारी दिनुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारमा रहेर सतर्कतापूर्व जनताका मुद्दा सम्बोधन गरेर जानुपर्ने र त्यही गतिमा पार्टी कमिटीहरुलाई पनि चलायमान बनाउन निर्देशन दिनुभयो । उहाँले स्थानीय तहको उपनिर्वाचनमा गुटबन्दीमा नलागी जित्ने गरी काम गर्नसमेत नेताहरुलाई निर्देशन दिएको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ । महासचिवको कार्ययोजनामाथि भोलि छलफल हुने छ ।