७ बैशाख २०८२, आईतवार

अमेरिका र बेलायतले युक्रेनलाई दिएनन् लामो दुरीको मिसाइल प्रयोगको अनुमति

biden starmer

बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले वाशिङटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्तापछि युक्रेनलाई रुसभित्र प्रहार गर्न लामो दुरीका मिसाइल प्रयोगको अनुमति दिने विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

दुई नेताबीचको भेटवार्ता युक्रेनलाई रुस भित्र प्रहार गर्न पश्चिमी मिसाइल प्रयोग गर्न अनुमति दिने कि नदिने विषयमा केन्द्रित रहे पनि कुनै औपचारिक निर्णय नभएको ह्वाइट हाउसले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्ल्यादिमिर जेलेन्स्कीले मस्कोको आक्रमण गर्ने क्षमतालाई सीमित गर्न युक्रेनलाई लामो दुरीको मिसाइल र प्रयोगको अनुमति दिन पश्चिमा राष्ट्रहरुलाई लोमो समयदेखि आग्रह गर्दै आएका थिए ।

बेलायती र अमेरिकी विदेशमन्त्रीले युक्रेन भ्रमणको बेला सो विषयबारे सकारात्मक रहे पनि बाइडन र स्टार्मरले अनुमति नदिएको बताइएको छ । स्टार्मरसँगको भेटमा बाइडनले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्धमा विजयी नहुने स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई नेताहरूबीच युक्रेनलाई समर्थन गर्ने नयाँ चरणहरूबारे समेत छलफल भएको बताइएको छ ।

पश्चिमा राष्ट्रहरुले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिने बारे छलफल भइरँदा पुटिनले यदि युक्रेनले रुसविरुद्ध पश्चिमी निर्मित लामो दूरीको क्षेप्यास्त्रले रुसी भूभागमा प्रहार गर्न अनुमति पाए पश्चिमा र नेटोसँग रुसको प्रत्यक्ष लडाइँ हुने चेतावनी दिएका थिए । युद्ध भड्किन सक्ने भन्दै बाइडनले युक्रेनी प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

दुई नेताबीच इन्डो प्यासिफिक र मध्य पूर्वबारे पनि छलफल भएको बताइएको छ । साथै रुसलाई इरान र उत्तर कोरियाले घातक हतियार उपलब्ध गराएकोमा दुई नेताले गहिरो चिन्ता व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले यसै वर्ष युक्रेनलाई लामो दूरीका मिसाइल उपलब्ध गराएपनि रुसभित्र आक्रमण गर्न अनुमति दिएको थिएन् ।