
अभिनेता सौगात मल्ल फिल्म ‘कल्ली’मा अनुबन्धित भएका छन्। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो फिल्ममा यसै साता उनीसँग निर्माता किरण नेपालीले कागजी सम्झौता गरेका हुन् ।
फिल्ममा सौगातको भूमिका के हुने भन्ने बारेमा निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
सौगातले यसअघि निर्माता किरण नेपालीसँगका तीन फिल्म- ‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’, र ‘हात्तीछाप’मा काम गरिसकेका छन्।
सौगातको प्रवेशसँगै अभिनेता पल शाहको फिल्मबाट बाहिरिएको अनुमान धेरैले गरिरहेका छन्। तर, निर्माता किरण नेपालीले भने यस्तो हल्ला निराधार रहेको दाबी गरेका छन्। उनका अनुसार फिल्ममा चारजना प्रमुख अभिनेता हुनेछन् र तीमध्ये एक भूमिका सौगात मल्ललाई दिइएको हो। यसले पल शाहको भूमिकामा कुनै परिवर्तन नआएको स्पष्ट पारिएको छ।
फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्दैछन्, जसले यसअघि ‘बुलाकी’ फिल्म निर्देशन गरेका थिए।
‘कल्ली’को पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् भने सुरज आचार्य यसका निर्माण प्रमुख हुन्। फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा हुने र तिहारपछि छायांकन सुरु गरिने योजना रहेको निर्देशक सुनारले बताएका छन्।
फिल्मको रिलिज मिति भने नयाँ वर्ष २०८२ को अवसर पारेर चैत्र २९ गतेलाई तय गरिएको छ। पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले लिएका छन्।
‘कल्ली’मा सौगात मल्ल र अन्य कलाकारहरूको भूमिकामा अझै थप खुलासा हुने अपेक्षा गरिएको छ।