
दुई दिनदेखिको अबिरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण ८० जनाको मृत्यु भएको छ । ६९ जना बेपत्ता र ६० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । विपदले देशभरको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ । हराइरहेकाहरुको खोजी जारी छ ।
उपत्यकाबाहेक बागमती प्रदेशमा थप २३ जनाको, कोशीमा ८ जनाको र मधेश प्रदेशमा एक जनाको विपदमा परि ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
भक्तपुरको आसापुरीमा २ र पलासेमा गर्भवती महिलासहित ३ जना गरी पाँच जनाको मृत्यु भएको हो । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । यस्तै ५६ जनालाई उद्धार गरिएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशस्त्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।
ललितपुरको नख्खु खोलाले बगाउँदा नखिपोट क्षेत्रबाट ४ जना बेपत्ता भएकोमा तीन जनाको उद्धार गरिएको छ । यसैगरी गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । बाढी र डुबानले ठूलो धनमालको पनि क्षति भएको छ ।