
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले पशुपति विकास कोषको संरचना संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर मारवाडी सेवा समितिको संरक्षण गरेको आरोप लगाउनु भएको छ ।
धर्मशाला खाली गर्न मारवाडी सेवा समितिले नमानेपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति राख्नु भएको हो ।
‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ,’ मेयर शाहले लेख्नु भएको छ, ‘अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ ।’
काठमाडौं महानगरपालिकाले गौशालास्थित धर्मशाला खाली गर्न निर्देशन दिएकोप्रति मारवाडी सेवा समितिले आपत्ति जनाएको छ । समितिले पशुपति गौशाला धर्मशालासँगको करार रद्द गर्ने पशुपति क्षेत्र विकास कोषको निर्णयमा अदालतमा पुनरावेदनमा जाने अधिकार भएकाले अहिले बाधा अड्काउ नगर्न आग्रह गरेको छ ।
गौशालास्थित पशुपति धर्मशाला मारवाडी सेवा समितिले २१ वर्षदेखि सञ्चालन गरिरहेको छ । समितिले वार्षिक ५१ हजार रुपैयाँ तिरेर धर्मशाला प्रयोग गरिरहेको थियो । यो धर्मशालामा समितिले होटल, लज, रेस्टुरेन्ट र डायलासिस सेन्टर सञ्चालन गरिरहेको छ ।
काठमाडौं महानगर प्रहरी बलले आज गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । बोर्ड राख्ने क्रममा मारवाडी सेवा समिति र नगर प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो ।
यस्तो छ उनले सामाजिक सञ्जालमा पोखेको आक्रोश-
नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ ,अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरूलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।