
पाल्पाको भैरवस्थान मन्दिरमा घटस्थापनादेखि दैनिक सयौंको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् ।
भैरव मन्दिर पाल्पाली सेनवंशीय अन्तिम राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन् । हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरका रूपमा यसलाई चिनिन्छ । आफ्नो मनोकांक्षा पूरा होस् र पूरा भएपछि रोट, बली, पञ्चबली चढाउने गरिएको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताउनुभयो ।
अरू बेलामाभन्दा दसैँमा भैरवस्थानमा बढी भिड लाग्ने गरेको छ । योबाहेक पनि वैशाख र मङ्सिर महिनामा दर्शनार्थीको भिड लाग्छ । पश्चिम नेपालकै शक्तिपीठका रूपमा भैरवस्थानलाई लिइने गरिन्छ । मन्दिरमा दर्शनका लागि नेपालमा धेरै जिल्लाबाट आउने गर्दछन् ।
दर्शनार्थीको सुविधाका लागि रोट पकाउने, बलीका लागि बोका, कुखुरासमेतको व्यवस्था छ । मन्दिरमा मानापाथीका रोट पकाउन लगाएर चढाउने गरिन्छ । मन्दिरको ४ सय वर्ष पुरानो इतिहास छ । भैरवस्थान मन्दिर तानसेनदेखि ९ किलोमिटरको दूरीमा रहेको छ ।