६ बैशाख २०८२, शनिबार

प्रचण्डले माओवादी आन्दोलनलाई रसातलमा पुर्याएको बाबुरामको आरोप

baburam
फाइल फोटो

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनलाई रसातलमा पुर्याएको आरोप लगाएका छन् ।

सोमबार पोखरामा नेसपाको विधान अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले माओवादी कांग्रेस र एमाले भन्दा पनि भ्रष्टीकरणको बाटोमा गएको बताए ।

विगतमा नयाँ शक्ति हुँदै विभिन्न पार्टीमा भौतारिनु परेको स्मरण गराउँदै उनले भने, ‘माओवादी आन्दोलनलाई रसातलमा लिएर जाने, भ्रष्टीकरणमा कांग्रेस र एमालेलाई पनि उछिनेर बदनामी गर्ने प्रचण्डसमेतलाई सुध्रेर आउँछन् भने ठीकै छ नि त भनेर उदारता देखाउने मेरो कमजोरीका कारणले केही भ्रमजस्तो पर्न गयो ।’

साथै, आफूले सत्तामा रहँदा कहिले पनि देश र जनताप्रति घात नगरेको पनि उनले दाबी गरे । आफूलाई कसैले आरोप लगाउँछ भने प्रमाण लिएर आउन पनि उनले चुनौति दिए । अहिले नेसपाले सही बाटो हिँडिरहेको पनि उनको दाबी छ ।