
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए।
‘उनीहरुको एक(एक घटनाक्रमलाई हामीले सम्झियौँ भने छर्लङ्ग हुन सक्छौँ कि राजतन्त्रले देशको भलो गरेको छैन। त्यसकारण राजतन्त्रतर्फ फर्किने कल्पनै नगरे हुन्छ‚’ उनले भने, ‘अब यो मुलुकको इतिहास पछाडि फर्किन सक्दैन‚ हामी जान दिँदैनौँ। हामी चुनौती दिन चाहन्छौँ( यो देशमा फेरि ती वंशको शासन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।’
२४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उनले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताए।
उनले शाह वंशले देशलाई बर्बाद बनाएको आरोप पनि लगाए। उनले राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गरे। उनले देश इतिहासको पछाडि फर्किन नसक्ने दावी गरे।
‘अब यो मुलुक शाही वंशतर्फ फर्किन सक्दैन, राणातन्त्रतर्फ फर्किन सक्दैन। अब यो मुलुक वंश र परिवारको शासनमा फर्किन सक्दैन। अहिले संसारमा जनताहरु सार्वभौमसत्ता सम्पन्न भएका छन्‚ कसैको पनि दासता स्वीकार गर्न तयार छैनन्‚’ उनले भने, ‘नेपाली जनता पनि कसैको दास बन्न चाहँदैनन्। हामी हेरौँ २४० वर्षको शाह वंशको इतिहास, हामी हेरौँ १०४ वर्षको राणाकालीन शासनको इतिहास। देशलाई कति लुटे उनीहरुलेरु देशलाई कति चुसे उनीहरुले‚ देशलाई कसरी बर्बाद पारे उनीहरुले ?