
सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ ।
शुक्रबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको हो ।
शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए ।
‘आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ मन्त्री गुरुङले भने ।
प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।