
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका छन् । उनले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका हुन् |
यसअघि माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले चैत २५–३० एकता महाधिवेशनको तिथि तय गरेको थियो । एकताका बेला २०७७ जेठ २ गतेभित्रै एकता महाधिवेशन गर्ने सहमति भए पनि माघमा बसेको केन्द्रीय कमिटीले मिति सारेको थियो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् ।
पार्टीभित्र संकट गहिरिएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्सिरभित्रै महाधिवेशन गरेर आफूले नेतृत्व छाड्न तयार रहेको बताएका हुन् । प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् ।
विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
“पार्टी अध्यक्ष ओलीले मङ्सिरभित्रै महाधिवेशन प्रस्ताव गर्नुभएको छ । त्यसमा अर्का अध्यक्षको सहमति छ,” ओली निकट एक सचिवालय सदस्य भने, “पार्टी अब महाधिवेशनमा गयो । पार्टीभित्र देखा परेका तमाम समस्याको निकास अब महाधिवेशन नै हो ।”
मङ्सिरमै महाधिवेशन गर्ने प्रस्ताव पछि ओलीको अहिलेको सत्ता सङ्कट टरेको उनको दाबी छ । आज झण्डै चार घण्टा सचिवालय बैठक बसेको थियो ।

सचिवालय बैठकमा प्रचण्डले कुरा उठाएनन् राजीनामाको
प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागबाट पछि हटेका छन्। उनले उक्त अडान छाडेको संकेत दिने गरी आफ्ना धारणा राखेका थिए। ‘प्रचण्डजीले सिधै त भन्नुभएको थिएन, तर मैले बुझ्दा उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको कुरा छाडेजस्तो छ,’ ती नेताले भने।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड दुवै सकारात्मक रूपमा प्रस्तुत भएका थिए।
बैठकलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।
‘सहमतिको आधारमा निकास दिउँ भनेर दुवै अध्यक्षले मिले मिले जस्तो गरेर आफूलाई प्रस्तुत गर्नुभएको छ। तै पनि ठोस निष्कर्ष निस्किसकेको स्थिति छैन। छलफल जारी छ,’ एक सचिवालय सदस्यले भने, ‘हामी समग्रमा प्रस्ताव ल्याउँछौ भनेर दुई अध्यक्षले भन्नुभएको छ।’
बैठकमा पार्टी एकताको रक्षा गर्दै गुटगत छलफलमा जान नहुने धारणासमेत आएको थियो। पार्टीभित्रको संघर्षबारे छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको ती नेताले बताए।
चार घण्टा बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनादेशको भावनाअनुरूप अघि बढ्ने निर्णय भएको जानकारी गराउँदै ओलीको सत्ता सङ्कट टरेको जानकारी दिएका थिए ।