
मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद बैडकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो ।
उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको बताइएको छ । विष्फोटमा परेर एक सयजना भन्दा बढीको मृत्यु भएको जनाइएको छ भने ४ हजारजना भन्दा बढी घाइते भएका छन् ।
बुधबार त्यहाँका सूचनामन्त्रीद्वारा जारी विज्ञप्ति अनुसार उक्त गोदाममा २७५० टन अममोनियम नाइट्रेट राखिएको थियो । अतिशवाजी पछि गोदाममा आगलागी भएर विष्फोट भएको अनुमान गरिएको छ ।
विस्फोटमा नेपाली समुदायलाई कुनै क्षति भएको छैन
लेबनानको राजधानी बेरुतमा भएको विस्फोेटमा त्यहाँ रहेको नेपाली समुदायलाई कुनै पनि क्षति नभएको इजिप्टको कायोरोस्थित नेपाली दूतावासले जनाएको छ। कायरोस्थित नेपाली दूतावासले नै लेबनान मामिला हेर्ने जिम्मेवारी पाएको छ ।
इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले बुधवार बेलुकासम्म त्यहाँ रहेका सबै नेपालीहरु सुरक्षित रहेको जानकारी आफूहरुले पाएको बताए।
बेरुतको एक कम्पनीमा कार्यररत गैरआवासीय नेपाली संघ (एनआरएनए) लेबनानका अध्यक्ष अशोक थापाले पनि विस्फोेटनमा नेपाली समुदायलाई कुनै पनि क्षति नभएको जानकारी दिए। नेपाली बसिरहेका घरहरुमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति नभएको उनको भनाई छ। ‘विस्फोट भएको एरिया नजिकै धैरै नेपालीहरु कार्यररत छैनन्,’ उनले भने, ‘ त्यहाँ नजिकै रहेका केही नेपालीहरु हाम्रो निरन्तर सम्पर्कमा हुनुहुन्छ। उहाँहरु सबै सुरक्षित नै हुनुहुन्छ ।’
लेबनानमा कति नेपाली कार्यररत छन् भन्ने आधिकारिक तथ्यांक छैन्। केहीवर्ष अघिसम्म लेबनानमा १० हजारको हाराहारीमा नेपाली कार्यररत रहेको अनुमान थियो। तर, पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दिका कारण त्यहाँबाट कयौँ नेपालीहरु अन्यत्र पलायन भएका छन्।
मंगलबार बेलुका राजधानी बेरुतको तटीय क्षेत्रस्थित अमोनिएयम नाइट्रेट गोदाममा आगलागी हुँदा भयानक विस्फोट भएको थियो । सो घटनामा परि कम्तिमा सय जनाको ज्यान गैसकेको छ भने ४ हजार जनाभन्दा बढी घाइते भएका छन् ।