
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको अपराध महाशाखाले जनाएको छ। यस्तै, स्टाफ नर्स अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको छ ।
काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले लामिछाने र कँडेललाई आज न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । उनीहरुलाई चितवन लगिँदै छ ।
साउन २० गते राति नारायणगढ स्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठामा रहेको पङखामा डोरी लगाइ मृत अवस्थामा प्रहरीले फेला पारको थियो। पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । उक्त भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको उल्लेख रहेको जनाइएको छ ।
युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा सुनाएका छन् । ‘तर मैले न्युज ट्वेन्टी फोर छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्।
सम्बन्धित समाचार
– रवि लामिछाने सहित तिन जनालाई अदालत पेश गरिँदै, हेटौंडाबाट हजार प्रहरी झिकाइयो
भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन् ‘रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।’