
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई आइतबार भएको यूएस ओपन प्रि-क्वाटर फाइनल प्रतिस्पर्धामा अयोग्य घोषित गरिएको छ।
जोकोभिचले रिसाएर कोर्टबाहिर फलेको बल लाइन जजको घाँटीमा लागेको थियो। त्यसपछि जोकोभिचलाई प्रतियोगिताबाट निष्कासित गरिएको हो।
यससँगै १८औं ग्राण्ड स्लाम जित्ने जोकोभिचको लक्ष्य अधुरै रह्यो। आर्थर एशे रंगशालामा जोकोभिच पहिलो सेटमा पाउलो कार्रेनो बुष्टासँग जितका लागि संघर्ष गरिरहेका थिए। जोकोभिच ६–५ ले पछाडि परेका थिए।

उक्त प्रि-क्वाटर फाइनल म्याचमा सर्बियाका जोकोभिच स्पेनका पाब्लो कर्रेनो बस्टासँग भिडिरहेका थियो। बस्टासँग पहिलो सेटमा ५-६ ले पछाडि परेपछि हतास भएका जोकोभिचले बल निकालेर टेनिस र्याकेटबाट प्रहार गरे। उक्त बल सीधै गएर लाइन जजलाई लाग्यो।
त्यतिबेला उपाधिको प्रमुख दाबेदार जोकोभिचले रिसाएर कोर्टबाहिर फालेको बलले दायाँ भागमा बसेकी लाइन जजलाई लाग्यो। उनी घुँडा टेकेर भुइँमा लडिन्। उक्त घटनापछि लामो छलफल हुँदा उनलाई यूएस ओपनका अधिकारीहरुले अयोग्य घोषित गरे। झन्डै १० मिनेटको छलफलपछि खेलका मुख्य रेफ्री सोरेन फ्रेमेल, ग्राण्ड स्लामका सिनियर रेफ्री आन्द्रेश इगली र प्रमुख अम्पायर औरेली टोउर्टले जोकोभिचलाई युएस ओपन यात्रा टुंगिएको बताएका थिए।

‘‘जोकोभिचले नियतबस नहानेको बताए। ‘म रिसाएको थिएँ। मैले बल बाहिर फलेको हो। जसले लाइन रेफ्रीलाई लाग्यो, यो स्पष्ट छ। तर त्यो मैले नियतबस गरेको होइन। मैले उनलाई हान्छु भनेर हानेको होइन।’ त्यसको उनले आफ्नो गल्ती नभएको बताएका थिए,’’ खेलका मुख्य रेफ्री फ्रेमेलले भने, ‘‘हामी पनि सहमत भयौं कि उनले नियतबस हानेका होइनन्। तर, उनले हानेको बलले लाइन रेफ्रीलाई लागेको सत्य हो। र रेफ्रीलाई चोट पुगेको सत्य हो।’’
फ्रेमेलले के भएको थियो देखेका थिएनन्। उनले भिडियो रिप्ले हेर्न पनि स्वीकारेनन्। तर, इगली र टोउर्ट दौडदै लाइन रेफ्रीलाई उठाउन पुगेका थिए। नियतबस नहाने पनि उनले गरेको हर्कतले रेफ्रीलाई चोट पुगेको र त्यो नै जोकोभिचलाई निष्कासित गर्न पर्याप्त रहेको फ्रेमेलले बताए।
तथापि, जोकोभिचले कारेनो बुष्टासँग हात मिलाएर कोर्टबाट बाहिरिएका थिए। क्वार्टरफाइनलमा स्थान बनाएका बुष्टाले अब डेनिस शापोवलोभविरुद्ध खेल्नेछन्।
यूनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक विज्ञप्तिमा भनेको छ, “ग्रान्ड स्लाम नियम पुस्तिकाका अनुसार, जोकोभिचले जानाजान कसैलाई बलबाट वा कुनै खतरनाक तरिकाबाट प्रहार गर्ने वा कोर्टभित्र लापरवाहीपूर्वक खेल्ने वा परिणामलाई गम्भीरतापूर्वक नलिने काम गरेका कारण यूएस ओपनका रेफ्रीद्वारा २०२० यूएस ओपनबाट निकालिएको छ।”

उनी ग्रान्ड स्लामको इतिहासमा अयोग्य ठहरिने तेस्रा खेलाडी हुन्। उनी अगाडि सन् १९९० मा जोन मैकेनरो अस्ट्रेलियन ओपनबाट र २००० मा स्टीफन कुबैक फ्रेन्च ओपनबाट अयोग्य घोषित गरिएका थिए।
जोकोभिचलाई यूएस ओपनमा पुरुष एकलतर्फको उपाधिको बलियो दाबेदार मानिएको थियो। उनी प्रतिद्वन्द्वी राफायल नाडाल र रोजर फेडेररको नजिक पुग्ने गरी आफ्नो १८औं ग्रान्ड स्लाम उपाधि जित्न खेल्दै थिए। फेडेररसँग २० वटा र नाडालसँग १९ वटा ग्रान्ड स्लाम उपाधि छ।
