९ बैशाख २०८२, मंगलवार

आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर्स हैदराबाद पराजित

rcb ipl

रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो।

१६४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदराबादले १९.४ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो। १८ रन हुँदा कप्तान डेविड वार्नर व्यक्तिगत ६ रनमा आउट भएको हैदराबादका लागि जोनी बैरस्टव र मनिष पाण्डेले ७१ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लगेका थिए। तर बैरस्टव ६१ र मनिष ३४ रनमा आउट भएपछि विकेट पतन सुरु भएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका प्रियम गर्गले १२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन्।

बलिङतर्फ बैंग्लोरका युज्भेन्द्र चाहालले ३ विकेट लिए। त्यस्तै, सिवम दुब र नवदिप सैनीले समान २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। बैंग्लोरका लागि देवदुत पदिकलले ५६ रन बनाउँदा एबी डि भिलियर्सले ३० बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। आरोन फिन्चले २९ र कप्तान विराट कोहलीले १४ रन बनाएका थिए।