
कार्यक्रम उत्पादक मिडिया हब प्रा.लि. र हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहबीचको विवाद टुंगिएको छ।
‘सक्किगोनी’ का पात्रहरु आफूले निर्माण गरेको ‘भद्रगोल’बाट लगिएको दाबीसहित मिडिया हबले प्रहरीमा परिसर टेकुमा ‘कपीराइट’ उजुरी गरको थियो। यस विषयमा छलफल गर्न प्रहरीले शुक्रबार दुवै पक्षलाई बोलाएको थियो। तर, उनीहरुले प्रहरीमा नगई पहिल्यै दुवै पक्षबीच सहमति गरेका छन्।
मिडिया हबका प्रमुख सोमप्रसाद धिताल, ‘सक्किगोनि’का प्रमुख पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) बीचको छलफलमा विवादको विषय सहमतिमा टुंग्याईएको हो।
पाँडेले आफूहरुबीचको विवाद टुंगिएको फेसबुकमार्फत समेत जानकारी दिएका छन्।
यसअघि मिडिया हबको उत्पादनमा ‘भद्रगोल’मा काम गरेका जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गरिरहेको छ। मिडिया हबले पनि नेपाल टेलिभिजनबाट ‘भद्रगोल’को प्रशारण जारी राखेको छ।
‘विवाद दुवैपक्ष बसी आपसी समझदारीमा टुंगोमा पुर्याइएको छ। आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको समेत उनले स्टाटसमा उल्लेख गरेका छन्।