
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन ।
अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए । यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्दै छन। यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए ।
दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।
उहाँले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका थिए । ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा सन्दीपले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए । सिपिएलपछि युनाइटेड अरब इमिरेट्समा खेलिएको इन्डियन प्रिमियर लिय (आइपिएल)मा सहभागी भए । दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आइपिएलमा कुनै पनि खेल खेल्न अवसर भने पाएनन् ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भए पनि हाल सन्दीप कोरोना मुक्त छन ।