
२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो ।
राष्ट्रिय पोशाक तथा आ-आफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । उक्त क्रम दिनभर नै चल्यो ।

विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गर्नुभएको हो । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उहाँले त्यसबेला व्यक्त गर्नुभएको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहीआएको छ ।
उहाँका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उपदेशका रुपमा बुझ्दै आएका छन् । २१ वर्षको उमेरमा गद्दी आरोहण गर्नुभएका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै वितेर ५२ वर्षको उमेरमा विसं १८३१ माघ २ गते निधन भएको थियो ।
उहाँ र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो । पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटीकामा वृहद नेपालको झण्डा प्रस्तुत गरिएको थियो । समाजका विभिन्न क्षेत्रका महानुभावको अगुवाइमा भएको उक्त कार्यक्रमपछि र्यालीले नगरका विभिन्न कार्यक्रमको परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो ।

उक्त सभामा बोल्ने वक्ताहरुले पृथ्वीनारायणको योगदानको कदर स्वरुप उहाँको तस्बीर अङ्कित मुद्रा निकाल्न, पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्य उपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गर्नुभयो । पृथ्वी नारायण शाहको जीवनी झल्कने सङ्ग्राहलय स्थापना गर्न र जीवनीलाई लिएर राज्यकातर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरियो ।
सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वी नारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।