
भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्व र्यालीलाई स्थानीय प्रहरीले रोकेको छ ।
भीषण आगलागी र डढेलोका कारण कम्तीमा २४ जनाको ज्यान गएको, ५० करोड भन्दा बढी जनावर मरेको, सयौं घर जलेर ऐतिहासिक संकटमा रहेको अवस्थामा भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्नु उचित नहुने भन्दै मन्त्री भट्टराईले नेतृत्व गरेको उक्त र्यालीलाई मंगलबार ओपेरा हाउसको सुरक्षाले रोकेको हो ।
र्यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहितको टोली रहेको थियो । यो कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै प्रहरीले ओपेरा हाउससम्म जान रोकेको अष्ट्रेलियाबाट पत्रकार राम खत्रीले जनाएका छन् ।
र्यालीमा सहभागीहरुले पैदल यात्रुलाई असर पर्ने कारणसमेत जनाइएको थियो । ओपेरा हाउससम्म जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । अन्तिममा प्रहरीसंग अनुरोध गरेपछि थोरै संख्यामा मानिसहरु र्यालीमा सहभागी भएका थिए ।
यता, मन्त्री भट्टराईका स्वकीय सचिब प्रेम गुरागाईंले प्रहरीले रोकेको भन्ने आशयका समाचारहरु गलत सम्प्रेषण भएको बताएका छन् । उनले फेसबुकमार्फत भनेका छन्–‘काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो रु नियत गम्भीर छ ।’
एजेन्सी को सहयोगमा