
मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धिलगायतका निर्णयले विद्यार्थी मारमा परेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
विद्यार्थी संगठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा ताला लगाइदिएका छन् । सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न विद्यार्थी संंगठनहरुले क्याम्पसमा आजबाट रिले अनशन सुरु गरेका छन् ।
शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । क्याम्पसमा आज दिउँसो स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका हुन् ।
शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ । समितिको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।
७ वर्ष देखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्क वृद्धि गरेको जनाइएको छ । क्याम्पस वार्षिक रुपमा ४ करोड २० लाख घाटामा सञ्चालन भएको समितिको दाबी छ ।
यता विद्यार्थी संगठनले क्याम्पस घाटा रहेको नाममा विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णय मान्य नहुने बताएका छन् । शुल्क बृद्धिको निर्णयप्रति घोर भत्र्सना गर्दै तत्काल निर्णय नसच्याए थप आन्दोलनका कार्यक्रम गर्ने बिद्यार्थी संगठनले यसअघिनै प्रेश बिज्ञप्ति जारी गर्दै चेतावनी दिएका थिए ।
स्रोत : हेटौंडाखबर डट कम