
सहपाठी किशोरीको बलात्कार तथा हत्याजस्तो जघन्य अपराधमा पक्राउ परेका आरोपी स्वयं पनि किशोर भएकाले उनीमाथि कस्तो कारबाही गर्ने भन्नेमा जिज्ञासा जागेको छ । नेपालको कानुनले १८ वर्ष नपुगेको व्यक्तिले अपराध गरेको पुष्टि भएमा जेलको सट्टा बाल सुधारगृहमा पठाउने व्यवस्था गरेको छ।
भागरथीको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका किशोर १८ वर्ष पुगेको पुष्टि हुन सकेको छैन । ‘यो विषयमा हामी अनुसन्धान गर्दै छौँ, विद्यालयमा उनको जन्ममिति भिडाएर यो विषयमा टुंगोमा पुग्छौँ,’ डिआइजी उत्तम सुवेदीको भनाइ छ।
१८ वर्ष नपुगेका व्यक्तिलाई पुर्पक्षका लागि पनि जेल होइन, बाल सुधारगृहमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । अभियोग पुष्टि भएपछि पनि सजायसमेत आधा हुने व्यवस्था छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र लोकेश राउदले लेखेका छन्।
क्रूर तरिकाले हत्या गर्ने अपराधीलाई जन्मकैद अर्थात् २५ वर्ष जेल सजाय हुने व्यवस्था छ । तर, नाबालक साढे १२ वर्ष नै बाल सुधारगृह बसे पुग्छ । गत १२ असोजमा बझाङको मस्टा गाउँपालिकामा १२ वर्षीया सम्झना विकलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पनि हाल डोटीस्थित बाल सुधारगृहमा राखिएको छ।
देशका आठ सुधारगृहमा हाल सात सय ७४ जना बालबालिका छन् । जसमध्ये २६ जना बालिका छन् । कारागार व्यवस्थापन विभागका अनुसार भक्तपुरको बाल सुधारगृहमा एक सय ७२ जना, मोरङमा एक सय ८६, बाँकेमा एक सय २३, कास्कीमा ८७, रुपन्देहीमा ७९, पर्सामा ५७, डोटीमा ३८ र मकवानपुरमा ३२ जना बालबालिका रहेका छन्।
आर्थिक वर्ष ०७५÷७६ मा दुई हजार दुई सय ३० बलात्कारका घटनामा दुई हजार दुई सय २७ जना पक्राउ परेका थिए । त्यसमध्ये एक हजार ३ सय २५ जना २५ वर्षभन्दा कम उमेरका अभियुक्त छन् । त्यसमा पनि तीन सय २९ जना त नाबालक अर्थात् १८ वर्षभन्दा कम उमेरका छन्।
०७६÷७७ मा दुई हजार एक सय ४४ मुद्दामा दुई हजार चार सय ५० पक्राउ परेका थिए । त्यसमध्ये एक हजार तीन सय ६ जना २५ वर्षभन्दा कम उमेरका छन् । सो वर्ष तीन सय ५ जना नाबालक पक्राउ परेका थिए।
चालू आर्थिक वर्षको पुससम्म प्रहरीमा एक हजार दुई सय ६० वटा मुद्दा दायर भएका छन् । जसमा एक हजार चार सय २७ जना पक्राउ परेकोमा एक सय ६७ जना नाबालक छन्।
१. मुख्य उद्देश्य बलात्कार कि हत्या ?
आरोपी किशोरले हत्या गर्ने योजनाले बाटोबाट धकेलेर ३० मिटर तल खसालेको र घाइते अवस्थामा घाँटी अठ्याएर हत्या गरेको बयान दिएका छन् । बलात्कार गर्नका लागि कपडा फुकालिदिएको, तर बलात्कार नगरी छाडेको प्रारम्भिक बयान दिएका छन् । तर, पीडितको निजी अंगबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । त्यति मात्र होइन, पोस्टमार्टम रिपोर्टले पनि बलात्कार भएको पुष्टि गरेको छ । ‘पीडितको निजी अंगमा निकै ठूलो क्षति भएको छ, सुत्केरी हुँदा महिलाको जुन अवस्था हुन्छ, त्यही अवस्था उनको थियो,’ अस्पताल स्रोतको भनाइ छ । मृतकको स्तनमा समेत टोकिएका घाउहरू भेटिएका छन् । त्यसैले बलात्कार गरेको होइन भन्ने आरोपितको दाबी र उपलब्ध प्रमाण मिल्दाजुल्दा छैनन् । यो विषयमा प्रहरी आपैmँ पनि स्पष्ट भइसकेको छैन ।
२. ३५ वर्षअघिको घटनामा अहिले प्रतिशोध !
आरोपी किशोरले आफ्नो परिवारको एक महिला सदस्यमाथि भागरथीका बाबुले यौन दुव्र्यवहार गरेकाले आपूmले बदला लिन यो अपराध गरेको बहाना बनाएका छन् । दुई परिवारबीच यो विषयमा विगतमा मनमुटाव भएको गाउँलेले पनि बताएका छन् । तर, यो कथित घटना करिब ३५ वर्षअघिको हो, स्वयं भागरथी र आरोपी किशोर जन्मिनुभन्दा १८ वर्षअघि भएको यो घटनाको बदला लिन किशोरले अहिले हत्या गरेका हुन् भन्नेमा छिमेकीहरू विश्वस्त छैनन् । त्यसैले आफ्नै आपराधिक मानसिकताले बलात्कार गरेर अहिले प्रतिशोधको लेपन लगाएको हुन सक्ने छिमेकीहरूको भनाइ छ ।
३. अनुसन्धान पूरा नहुँदै प्रहरीलाई माला
आरोपी किशोरलाई अदालतमा पेस गरेपछि अनुसन्धान सफल भएको भन्दै भागरथीको गाउँमा प्रहरीलाई सम्मान गरिएको छ । स्थानीय खोँचलेक प्रहरी चौकीमा डिआइजी उत्तम सुवेदीसहित टोलीलाई खादा ओढाइएको थियो । एकातिर भागरथीका दाइले नै आरोपी किशोरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । अर्कोतिर, किशोर एक्लैले यो अपराध गरेका होइनन् भनेर परिवार भन्दै छ । त्यति मात्र होइन, अनुसन्धान नसकिँदै प्रहरीलाई पूmलमाला गरिएको छ । यो विरोधाभासका विषयमा भागरथीका काका शिवराजले भने, ‘दाइ सोझो छ, प्रहरीले उजुरी दिनु भनेपछि दिएका हौँ, पूmलमाला त वडाध्यक्षहरूले लगाइदिएका हुन् ।’ प्रहरीको सम्मान गर्न दोगडाकेदार– ७ का वडाध्यक्ष भरत महरा, ३ का अध्यक्ष चन्द्रदेव जोशी र भागरथी न्याय अभियानका अभियन्ता भुवन कार्की खोँचलेक प्रहरी चौकी पुगेका थिए ।
४. आरोपी हिरासतमा, शव अस्पतालमा
दोषीलाई छिटोभन्दा छिटो गिरफ्तार गर्न दबाब दिँदै आएका परिवारले अभैm पनि शव बुझ्न मानेका छैनन् । ‘आरोपी किशोर एक्लैले यति ठूलो अपराध गराउन सक्छ भन्नेमा हामीलाई विश्वास छैन, घटनाको सम्पूर्ण अनुसन्धान सकिएको छैन, न्याय पाउने निश्चित नभएसम्म शव उठाउँदैनौँ,’ पीडित परिवारका आफन्तको भनाइ छ । १४ दिनदेखि राखिएको शव सुरक्षित गर्न अस्पताललाई समेत हम्मे परेको छ ।
५. डिएनए परीक्षणमा अन्योल
भागरथीको शरीरबाट संकलन गरिएको नमुना प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा ल्याइएको छ, तर पीडित र आरोपीको डिएनए परीक्षण गराउने कि नगराउने भन्नेमा प्रहरी आपैmँ प्रस्ट भइसकेको छैन । अपराधका घटनामा डिएनए परीक्षण गराउने प्रचलन आम होइन । निर्मलाको बलात्कार तथा हत्याको घटनामा डिएनएको भर पर्दा अनुसन्धान नै बिथोलिएको प्रहरीको आन्तरिक मूल्यांकन छ । खासगरी डिएनएको नमुना संकलनमा पर्याप्त सावधानी नभएमा परीक्षणले समेत सही नतिजा नदिन सक्छ । अहिले पक्राउ परेका किशोरका विरुद्ध पर्याप्त प्रमाण भएकाले त्यसैका आधारमा मुद्दा चलाउन सकिने विषयमा प्रहरी छलफलमा छ ।