
मेलम्चीको पानी वितरणका लागि बनाइएका संरचना सञ्चालनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी परीक्षणको समयदेखि नै संलग्न हुने भएका छन् । शुरुका केही महिना निर्माण कम्पनीले नै परीक्षण गर्ने सहमति भए पनि अहिले शुरुबाट नै कम्पनीका कर्मचारी सहभागी हुने गरी छलफल भइरहेको हो ।
पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको संरचना सञ्चालनमा शुरुका दिनदेखि नै लिमिटेडका कर्मचारी निर्माण कम्पनीसँग साथमा हुने गरी छलफल भइरहेको लिमिटेडले जनाएको छ । पहिले पूर्वाधार निर्माण पछि केही समयसम्म निर्माण कम्पनीले नै पूर्वाधार सञ्चालन गर्ने योजना बनाइएकोे लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार कर्मचारीलाई सुन्दरीजलमा पानी आएपछि नै परीक्षणमा खटाउँदा पछि सञ्चालनमा सजिलो हुने देखिएको छ । उहाँले भन्नुभयो, “हाम्रा कर्मचारी पनि सँगै हुँदा कुनकुन ठाउँमा के समस्या छ भन्ने जानकारी हुनेछ, त्यसले गर्दा तत्काल समाधान गर्न सकिनेछ ।”
निर्देशनालयले वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण सम्पन्न गरेर लिमिटेडलाई हस्तान्तरण गर्नेछ । उपत्यकामा पानी वितरणका लागि आर्थिक, प्रशासनिकलगायतका सबै तयारी भइसकेको छ । अहिले मेलम्चीको पानी आएपछि वितरणका लागि विच्छ्याइएका पाइपमा वाग्मतीको पानी हालेर परीक्षण भइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको पानी आएपछि नै पूर्णरुपमा परीक्षण हुनेछ ।”
निर्देशनालयले अहिलेसम्म सबै किसिमका गरी झण्डै एक हजार २०० किमी पाइप विच्छ्याइसकेको छ । १० स्थानमा रिजर्भ पानी ट्याङ्कीको निर्माण गरेको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमध्ये अधिकांश स्थानमा पाइप विच्छ्याउने काम भइसकेको छ ।
बोर्डले हेलम्बुस्थित निर्माणस्थलमा सुरुङ मार्ग, हेडबक्स निर्माण र सुन्दरीजलमा दुई प्रशोधन केन्द्र निर्माण गरेको छ । निर्देशनालयले प्रशोधन केन्द्रबाट विभिन्न स्थानमा रिजर्भ ट्याङ्की हुँदै पोखरीसम्म पानी पठाउन आवश्यक संरचना निर्माण गरेको छ । निर्देशनालयले सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप विच्छ्याउने काम गरिरहेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी वितरण हुनेछ । पहिलो चरणमा चक्रपथभित्रका अधिकांश स्थानमा र उपत्यका बाहिरका केही स्थानमा पानी वितरण हुनेछ ।