
उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भन्नु भयो सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताउनु भयो ।
ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’
सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताउनु भयो । निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ । ताजा जनादेशमा जानुमै सबैको हित हुने उहाँको भनाइ छ । ‘नेपाली जनताले इच्छाएको पार्टी र प्रतिनिधिलाई विजयी बनाउने अवसर आएको छ । जसले जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्प छैन ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नु भयो ।
उहाँले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास व्यक्त गरे । निर्वाचन आयोगले सूर्य चुनाव चिह्न खारेज गर्ने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नु भयो , ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सूर्य चिह्न पाउँछन् भनेर हामी विश्वास गर्दनौं ।’