७ बैशाख २०८२, आईतवार

कांग्रेसको बैठक अघि नै सानेपामा झडप,देउवाकै अघि गमलाले हाने, ब्यानर च्यातिदिए’

1580118539Capture

नेविसंघमा विधान मिचेर तदर्थ समिति ल्याउन लागेपछि पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समुहले सोमबार आमरण अनसन सुरू गर्‍यो।

नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यलयमा आमरण अनसन सुरु गरेपछि त्यहाँ दुई पक्षबीच झडप भएको छ।
कांग्रेस केन्द्रीय कार्यलय सानेपामा पार्टीको केन्द्रीय समितिको बैठक बस्‍नुअघि नै पूर्वमहामन्‍त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेपछि संस्थापन पक्षसँग निकट कार्यकर्ताहरूले हातपात गरेका थिए।

दुईपक्षबीच केही बेर तनाव र झडप भएको थियो। झडपलाई नियन्‍त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। संभावित मुठभेडलाई ध्यानमा राखेर कांग्रेस कार्यलयमा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन्। झडपका क्रममा पूर्वमहामन्‍त्री काफ्ले र कमल पन्तलगायत केही घाइते भएका छन्। अनसनमा बस्‍ने तयारी गरेका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्सदै भापति शेर बहादुर देउवालाई समेत रोक्न खोजेका थिए।

१ बजे बस्‍ने भनिएको बैठक झडप र तनावका कारण साढे तीन बजेसम्म पनि सुरु भएको छैन। कांग्रेसको आन्तरिक विवाद मिलेपछि पार्टीको केन्द्रीय समितिको बैठक सोमबार पार्टी कार्यलय सानेपामा बस्‍ने तयारी छ। पहिले नेविसंघको विवाद मिलाएर मात्र पार्टी सुरु गर्नुपर्ने दबाब दिइएपछि नेताहरु आन्तरिक परामर्शमा जुटेका छन्।

गत शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच भएको सात घन्टा लामो वार्तापछि आन्तरिक विवाद समाधान गर्ने सहमति भएको हो। संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच भएको सहमतिमा नेविसंघको पदाधिकारी र केन्द्रीय समितिमा साठी-चालिसको अनुपातमा भागबन्डा गर्ने सहमति भए पनि उमेरको हदबन्दीबारे केही भनिएको छैन।

काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्। नेविसंघको नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोकिनुपर्ने माग राखेका छन्। यही माग राखेर काफ्लेसहितको समूहले डेढ महिनादेखि कांग्रेस कार्यलयमा धर्ना दिँदै आएका छन्। अनसन बस्‍ने समूह कृष्णप्रसाद सिटौला पक्षसँग निकट छ। काफ्लेले अनसनमा बस्‍नेहरूमाथि हातपात भएपछि स्थिति तनावपूर्ण भएको थियो।

कांग्रेसको आन्तरिक विवाद मिलेपछि सोमबार बस्‍न लागेको केन्द्रीय समितिको बैठकलाई दबाब दिन उनी अनसनमा बसेका हुन्।

गत वर्ष असोज २१ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो । त्यतिबेला बहुमतको आडमा एकलौटी रुपमा विधान पारित गरेको भन्दै असन्तुष्ट पक्षले विरोध गर्‍यो र नोट अफ डिसेन्टसमेत लेख्यो। तर दुवै पक्षको पोजिसन पछिल्लो समय फेरि यु टर्न भएको छ। असन्तुष्ट पक्ष विधानमा तोकिए अनुसार ३२ वर्ष मुनिकै उमेर समूहबाट तदर्थ नेतृत्व छानेर महाधिवेशनमा जानुपर्ने दबाब दिइरहेको छ भने देउवा पक्ष उमेर हदलाई वास्ता नगर्दै उमेर ढल्किसकेका पात्रलाई नेविसंघ जिम्मा लगाउने रणनीतिमा छ।

संस्थापन पक्षले ५० वर्ष हाराहारीका राजीव ढुंगानाको नाम अघि सारेपछि विवादले जटिल रुप लिएको हो। १२ औँ महाधिवेशनबाट लागु हुने गरी नेविसंघको विधानमा ३२ वर्ष उमेर हदबन्दी तोकेको छ।तरुण दलमा समेत ४५ वर्षको उमेर हद तोकिएको छ।