
अज्ञात समूहबाट आफू अपहरणमा परि सामूहिक बलात्कार भएको भन्दै किशोरीले प्रहरी समक्ष दिएको बयान झुटो पुष्टि भएको छ । पुनर्वास नगरपालिका–२ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीले आफूलाई अपहरण गरी सामुहिक बलात्कार गरिएको भन्दै परिवार र प्रहरीलाई बयान दिएकी थिईन। आफ्ना प्रेमीलाई भेटेर फर्किदा ढिलो भएपछी पारिवारिक डरले उनले प्रहरी र परिवारलाई झुटो बयान दिएको खुल्न आएको छ।
उनले शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका ३ जना अज्ञात युवकहरूले अपहरण गरी बलात्कार गरेर मध्यरातमा सोही ठाउँमा छोडेर गएको भन्ने बयान दिएकी थिइन् । तर, २४ घण्टा नबित्दै किशोरीले दिएको बयान झुटो पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताएका छ्न।
‘किशोरीले ३ जनाले अपहरण गरेको र बलात्कार गरेको बताएकी थिइन्, तर त्यो झुट रहेछ’ डीएसपी क्षेत्रीले भने, ‘किशोरीले प्रेमी भेट्न गएको र घर फर्किन ढिला भएपछि परिवारको डरले झुटो बोलेको खुलेको छ ।’
किशोरीका १५ वर्षीय प्रेमीलाई समेत नियन्त्रणमा लिई उनी माथि जबरजस्तीकरणी अन्तर्गत अनुसन्धान भइरहेको समेत प्रहरी प्रवक्ता थापाले बताए ।
किशोरीको उमेर कम रहेकोले उनका प्रेमी माथी जबरजस्ती करणी अन्तर्गत अनुसन्धान गरिरहेका डीएसपी थापाले बताए ।
किशोरीले आफ्नो परिवारकै सामु आफू अपहरणमा नपरी प्रेमीलाई भेट्न गएको कुरा स्वीकार गरेको समेत प्रहरीले जनाएको छ ।