
सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ ।
शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ ।
मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।
आगलागीपछि ३० वटा गाई हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताए । एक्कासी विद्युत सर्ट भएर आगो लागेको सञ्चालक मनोजको भनाइ छ ।
एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको दाम्लाे काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो।
आगलागीले फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा आइसकेको छ ।
यता सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।
बिहीबार मात्र जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–५ आगलागी हुँदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । यता आगलागीमा चार वटा घर जलेर खरानी बनेको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।