
खोटाङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिका गरी १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २८ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जना, जन्तेढुंगा गाउँपालिकामा १ जनाको एन्टिजेन परिक्षण गर्दा १ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ८ जना, रावाबेसी गाउँपालिकामा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ३ जना संक्रमित छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको सख्या ९० पुगेको छ ।