
गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताएका छन् । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत उनले चेतावनी दिएका हुन् ।
संघीयतालाई बलियो बनाउन डटेर लागे प्रदेश सरकारलाई सहयोग गर्ने समेत उनले बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका हुन् ।
उनले भने, ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’
सम्बोधनको सुरुमै गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताए । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनले बताए ।