
रोल्पा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोग अझैसम्म नियन्त्रण नभएकोले रोकथाम तथा नियन्त्रणको लागि लगाउँदै आएको निषेधाज्ञा केही खुकुलो पार्दै निरन्तरता दिएको छ ।
यसअघि लगाएको निषेधाज्ञा आज असार १० गते राति १२ बजे सकिनै लाग्दा आज असार १० गते राति १२ बजे देखी आगामी असार २० गते राति १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञालाई थप गरिएको छ ।
खुकुलो पारिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना गरेर बिहान ६ बजे देखी दिउसो १ बजे सम्म सम्पुर्ण व्यापारिक पसलहरू खुला गर्ने, होटेल रेष्टुरेन्टहरुले तयारी खाना दिउसो २ बजेसम्म बिक्री गर्न पाउने छन् भने अब सवारी पास नलिई सरकारी, बैङ्क तथा वित्तीय संस्थाका सवारी साधन जिल्ला भित्र मात्र सञ्चालन हुन पाउने भएका छन् ।
त्यसै गरी सार्वजनिक सवारी साधनहरूले बढीमा ४ जना मात्र यात्रु राखेर जिल्ला भित्र मात्र सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो ।