
पोखरामा बालिकालाई जबरजस्ती करणी गरी गाेप्यरुपमा भिडियाे बनाएकाे अभियोगमा भारतीय युवक पक्राउ परेका छन् । भारतको बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला फतुछापर ब्रिति टोल वडा नं ७ बथना स्थायी घर भइ हाल कास्कीको पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
शर्माले १६ वर्षकी ती बालिकालाई ललाइ फकाइ गरी विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की समेत दिएर जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाएको भनी हिजाे प्रहरीमा जाहेरी परेकाे थियाे । उनले ती भिडियो तथा फोटोहरु पिडीत बालिकाकै नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो समेत हालिदिएको अभियाेग छ ।
शर्मालाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।
उनलाई पोखरा १४ चाउथेबाट हिजो पक्राउ गरिएको हो । उनी विरुद्ध जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक हमालले बताउनु भएको छ ।