
अविरल वर्षाले तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार वटा खानेपानीको मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा पाइपहरू बगाउँदा व्यास नगरपालिका–१ र १२ का गरी २५ सय उपभोक्ताहरू प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
धारामा पानी नआएपछि दुई दिनदेखि बोरिङ र खोला छेउमा रहेको कुवाको पानी ल्याएर मानिसहरू दैनिकी चलाउन बाध्य भएका छन् । अविरल वर्षापछि खानेपानीको सबै मुहान अवरुद्ध भएपछि छाब्दीखोला किनारमा रहेको कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको निर्मलनगर टोल विकास संस्थाका पूर्व अध्यक्ष अम्मर भण्डारीले जानकारी दिनुभयो ।
उक्त खानेपानीको कार्यालयदेखि करिब १३ किलोमिटर लामो दुरीमा पर्ने खिरखाँदी मुहानबाट ल्याइएको खानेपानी सोही वडाको बेलबासमा ४५ मिटर जिआई पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको छ ।
उक्त मुहानको पानी प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेको छ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोला दोभानको पक्की मोटरेवल पुल बगाएपछि तत्काल मर्मत सम्भार गर्न कठिनाइ भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । छाब्दी खोलामा आएको बाढीले पुल बगाएकोले सामान लिएर जान नसकिने हुँदा पुल बनेपछि मात्रै मर्मत सम्भार गर्न सकिने उहाँले बताउनुभयो ।
त्यसैगरी छाब्दी खोलाको मुहानबाट ल्याइएको पानीको पाइप बगाएर करिब नौ सय मिटर तल पुराएको सो समितिले जनाएको छ ।