
नेपालसहित छिमेकी देश भारतमा कोरोना संक्रमण कम हुन थालेपछि गौरीफण्टा नाका हुँदै भारत जानेहरुको भिड बढ्न थालेको छ । केही महिना अगाडी भारतमा कोरोना संक्रमणको महामारी फैलिन थालेपछि यही नाका भएर स्वदेश फर्किनेहरुको चहलपहल थियो ।
तर भारतमा पनि केही हप्ता यता संक्रमणदर कम हुन थालेपछि रोजगारीका लागि फेरी भारत जानेहरुको घुँइचो बढ्न थालको हो । आजभोली गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जाने सुदूरपश्चिमका युवाहरुको लामो लाईन देख्न सकिन्छ । संक्रमणदर ओरालो लाग्न थालेपछि यस प्रदेशमा रहेका युवाहरु फेरी रोजगारीका लागि भारत पस्न बाध्य भएका हुन ।
देशमा रोजगारीका अवसर नभएपछि उनीहरु फेरी पनि रोजगारीका लागि जोखिम मोलेरै छिमेकी मुलुक भारत जान थालेका हुन । महामारी हटेको नभई घटेको मात्रै भएको स्वास्थ्य विदहरुले बताई रहदाँ आफुहरु रहरले नभई बाध्यता भारत जानु परेको उनीहरुले बताएका छन । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको उनीहरुकोे भनाई छ ।
गाउँघरमा रोपाइँ सकिएपछि र कोभिडको संक्रमणदरमा केही कमी भएपछि अहिले सिमा नाकामा भारत पस्ने सुदूरपश्चिमेलीको भिडभाड छ । महामारी केही घटेको मात्र हो, हटेको होइन भन्दै पहिलेको भन्दा अझ बढी स्वास्थ्य सतर्कता अपनाउन र मानिसबीचको भौतिक दूरी कायम गर्न जनस्वास्थ्यविद्हरु आग्रह गर्दछन् ।