
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक मुलुकको कार्यकारी पदमा पुगेका छन् । सोमबार सर्वोच्च अदालतको परमादेश अनुसार देउवा मंगलबार पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
पाँचौं पटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुरा जिल्लाको साविकको असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो ।
गाउँ नजिकै रहेको असिग्राम प्राथमिक विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका देउवाले डडेल्धुरा सदरमुकाममा रहेको महेन्द्र माविबाट निम्न माध्यमिक तहको अध्ययन पूरा गरे । उनले माध्यमिक शिक्षा डोटीमा रहेको सीताराम मावि उच्चकोटबाट लिएका हुन् ।
स्कूले जीवनबाट नै देउवा नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भइसकेका थिए । उच्च शिक्षाका लागि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्ना भएसंगै देउवा राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेका थिए ।
देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका हुन् । २०१७ साल पुस १ गतेको कदमविरुद्ध संघर्षमा रहेको नेपाली कांग्रेसको विचारबाट प्रभावित देउवा आफूलाई ‘डेमोक्रेट’ भन्न रुचाउँथे ।
२०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित देउवा नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापक सदस्य हुन् भने नेविसंघको पहिलो निर्वाचित अध्यक्ष पनि । नेपाल विद्यार्थी संघको स्थापनापूर्व नै विद्यार्थी राजनीतिमा क्रियाशीलता बढाएका देउवा २०२८ सालमा नेविसंघको सभापति बने । उनी २०२८ असोज १ देखि २०३६ फागुन २९ गतेसम्म नेविसंघको अध्यक्ष भए ।
गृहजिल्ला डडेल्धुराबाट लगातार ६ पटकसम्म निर्वाचन जितेका देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापति बन्न सफल भएका थिए ।
देउवा पहिलो पटक २०४८ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।
राजनीतिक जीवनकालमा पटक–पटक गरी १० वर्षभन्दा बढी समय जेल जीवन बिताएका देउवाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक देउवाले सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कूल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत गरेका हुन् ।
मन्त्री हुँदै प्रधानमन्त्री सम्मको यात्रा
वि.सं. २०४८ देखि २०५१ सम्म गृहमन्त्रीको पद सम्हालेका देउवा २०५२ देखि २०६१ सालसम्म तीन पटक प्रधानमन्त्री निर्वाचित भएका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री रहेका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार ढलेपछि देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाए । उनी पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरेका थिए ।
२०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई नै पुनः प्रधानमन्त्रीमा नियुक्त गरे । ‘गोर्खाली राजाले न्याय गरेको’ भन्दै देउवाले एमाले सहितको सरकार सञ्चालन गरे । यद्यपि २०६१ माघ १९ मा ज्ञानेन्द्रले दोस्रोपटक असक्षम भन्दै देउवालाई अपदस्त गरेर प्रत्यक्ष शासन सुरु गरे ।
देउवाले पार्टी निर्णय विपरीत संकटकाल लगाउने निर्णय लिएपछि कांग्रेसले कारवाही गरेको थियो । पार्टीले गरेको कारवाहीको राजनीतिक प्रतिवाद गर्ने क्रममा देउवाले आफ्नै सभापतित्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन पनि गरे ।
देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री भएका थिए । देउवा नेतृत्वको सरकारले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको बाटो खुलेको थियो ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेश (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा कमैया मुक्ति घोषणा हुनुका साथै विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन भएका हुन् ।
देउवा पार्टी भित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बने । २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन अघि कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी वरिष्ठ नेता भए । कांग्रेसको राजनीतिमा ६ दशकदेखि अनवरत सक्रिय देउवा २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित भए ।
लोकतान्त्रिक आन्दोलनपछि संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक र कोइराला नेतृत्वको नेपाली कांग्रेसबीच एकता भयो । २०५७ सालमै कोइरालाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका देउवाले २०६७ मा सम्पन्न कांग्रेसको १२ औं महाधिवेशनमा सुशिल कोइरालासंग प्रतिस्पर्धा गरे । २०७२ फागुनमा कांग्रेसको सभापति बनेपछि देउवा पुनः राजनीतिको केन्द्रमा छाए ।
देउवा २०४८ सालदेखि भएका सबै आमनिर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट विजय हासिल गर्दै आएका छन् । उनी प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचनमा विजयी भएका थिए ।
त्यस्तै २०६४ मा सम्पन्न पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर–४ तथा २०७० सालमा भएको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली–६ बाट निर्वाचित देउवा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने डडेल्धुराबाट विजयी भएका हुन् ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष रहेका उनी २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले प्रजातन्त्र पुनर्वहालीका लागि पटक–पटक भएका आन्दोलनका क्रममा १० वर्ष १० महीना जेलजीवन विताएका छन् ।
केपी ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका देउवाले माओवादीकै समर्थनमा २०७४ जेठमा चौथोपटक सत्तारोहण गरे । चौथोपटक प्रधानमन्त्री हुँदा तीन वटै तहको निर्वाचन गराउने महत्वपूर्ण कार्यभार देउवाले पूरा गरे । यद्यपि निर्वाचनमा पार्टी जिताउन असमर्थ भएपछि २०७४ मंसिरपछि देउवा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा थिए । नेकपा विवाद र प्रधानमन्त्री ओलीले चालेका पछिल्ला राजनीतिक कदमबाट प्रत्यक्ष लाभ लिदै देउवा पाँचौ पटक सत्तामा पुगेका छन् ।
संविधानतः १ महिनाभित्र संसदमा विश्वासको मत लिनैपर्ने बाध्यता देउवासामू छ । विश्वासको मत नपाए मध्यावधि निर्वाचन सम्पन्न गराउने दायित्व देउवाकै काँधमा आउनेछ ।