
नेकपा एमालेको युवा संघले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरेको छ। काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।
आज नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीविरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।
प्रदर्शनमा युवा संघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताउनुभयो । उहाँले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भइरहेको बताउनुभएको छ ।
‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चेतावनी दिएका छौँ’, सदस्य चौलागाईंले भन्नुभयो– गद्दारीका काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने, मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवा संघ नेपाल जन्मिसकेको छ ।
सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्ठा भएको समेत सदस्य चौलागाईंले बताउनुभयो ।
युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।
