११ बैशाख २०८२, बिहीबार

देउवालाई बुझाए सांसद अमरेशकुमार सिंहले राजीनामा पत्र

amresh kumar singh
फाइल फोटो

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए । ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ । मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु रु क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिएको हुँ, सिंहले भने । उनले सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएको भन्दै राजीनामा बाहेक विकल्प नदेखेको बताए ।

प्रधानमन्त्री राजीनामा पत्र बुझाउनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भएको उनले बताए । उनले भने, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’

आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले बताएका छन् ।

सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठ लगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ । लामो समयदेखि कांग्रेसमा सक्रिय नेता कार्यकर्ता अल्पमतमा पर्ने गरी क्रियाशील वितरण गरिएको भन्दै सर्लाहीका नेता कार्यकर्ता केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्नामा छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर सानेपामा बाराका नेता कार्यकर्ता १० दिनदेखि धर्नामा छन् भने धनुषाका तीन नेता चार दिनदेखि आमरण अनसनमा छन् । कांग्रेसको महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर विवाद थप पेचिलो बनेको हो ।